१६ मंसिर, काठमाडौं — नेपालमा डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोसन एन्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शीर्षकको चारदिने तालिम सुरु भएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) द्वारा आयोजित र नेपाल पर्यटन बोर्ड तथा युएनडिपीको सस्टेनेबुल टुरिजम प्रोजेक्टको सहकार्यमा यो तालिम काठमाडौंको एक होटलमा सुरु गरिएको हो।
तालिममा सहभागी ३० जना ट्रेकिङ व्यवसायी तथा अफिस प्रोटोकलसम्बन्धी कर्मचारीहरूलाई एआई प्रयोगमार्फत अनलाइन पर्यटन प्रवर्द्धन, डिजिटल मार्केटिङ, सामग्री निर्माण, अनलाइन क्याम्पेन सञ्चालन, डिजिटल ब्रान्डिङ, यात्रा जानकारी व्यवस्थापन तथा ग्राहक सेवा स्वचालनजस्ता सीपहरू व्यावहारिक रूपमा सिकाइने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिए।
विश्व पर्यटन बजारमा तीव्र प्रतिस्पर्धा बढ्दै गएको वर्तमान परिस्थितिमा एआईको प्रयोगले नेपालको ट्रेकिङ तथा पर्यटन क्षेत्रलाई नयाँ स्तरमा पुर्याउन मद्दत गर्ने प्रशिक्षक सुमन बरालले बताए। सहभागीहरूको भनाइमा यो तालिमले दैनन्दिन कामलाई सहज बनाउनेछ र परम्परागत प्रचारप्रसारभन्दा एआई–आधारित उपायहरू छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
प्रशिक्षार्थी सलोना ढुङ्गानाले एआईले आफ्नो कामको गतिमा उल्लेखनीय परिवर्तन ल्याउने बताइन्। अर्का सहभागी ऋषिप्रसाद Nepal ले दैनिक प्रयोगमा नआएसम्म पनि विभिन्न एआई उपकरणबारे सिक्न पाएकोमा खुसी व्यक्त गरे। उनले डिजिटल मार्केटिङमा एआईमार्फत कम्पनी प्रवर्द्धन गर्ने तथा ग्राहक इमेलहरू अटोमेटेड प्रणालीमार्फत कसरी व्यवस्थापन गर्ने भन्ने विषय उपयोगी रहेको बताए।
प्रशिक्षार्थी रितिका धमलाले आधुनिक युगमा परम्परागत प्रवर्द्धन विधि प्रभावकारी नभएको बताउँदै एआई प्रयोगले नेपालको पर्यटन क्षेत्रमा पर्यटक आकर्षण बढाउन सकिने धारणा राखिन्।
आयोजकका अनुसार तालिमबाट सहभागीहरूले आन्तरिक कार्यसम्पादन सुधार्ने, ट्रेकिङ प्याकेजहरूलाई अन्तर्राष्ट्रिय बजारमा आकर्षक रूपमा प्रस्तुत गर्ने तथा एआईको सहयोगले प्रतिस्पर्धात्मक क्षमता बढाउन सक्ने अपेक्षा गरिएको छ।