Skip to main content

Epost Nepal

प्रचण्डद्वारा प्रधानमन्त्रीलाई नैतिकताका आधारमा राजीनामाको आग्रह

४ माघ, काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन्।

शुक्रबार आयोजित विपक्षी दलको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन बनाउँदाका प्राथमिकताहरू कार्यान्वयनमा सरकार असफल भएको उल्लेख गर्दै सरकारले नैतिकता गुमाएको आरोप लगाए।

“गठबन्धन बनाउँदा तय गरिएका योजनाहरू कुनै पनि अघि बढेका छैनन्। संविधान संशोधनको कुरा प्रधानमन्त्री स्वयंले २०८७ मा मात्रै सम्भव छ भनेका छन्। सुशासन र अन्य वाचा पनि ठिक विपरीत क्रियाकलाप भइरहेकाले सरकारमा टिकिरहने आधार छैन,” प्रचण्डले भने।

उनका अनुसार सरकारको असक्षमता र गैरजिम्मेवार व्यवहारले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने विश्वासिलो कारण पनि देखिँदैन। विपक्षीहरूले विशेष अधिवेशन बोलाउने योजना बनाइसकेको उनले जानकारी गराए।

“यदि सरकारले हाम्रो भनाइको बेवास्ता गरिरह्यो भने हामी थप कदम चाल्न बाध्य हुनेछौं। विशेष अधिवेशन मात्र होइन, सडक संघर्षसम्म जान हामी तयार छौं,” उनले चेतावनी दिए।

सरकारको गलत नीतिविरुद्ध विपक्षी दलहरूले सशक्त प्रतिवाद गर्ने दाहालको भनाइ थियो। उनले यसलाई सत्ता प्राप्तिको हतारको रूपमा नबुझ्न पनि स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *