Skip to main content

Epost Nepal

सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान

२३ असोज, काठमाडौं – यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ ।

सहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै विपद्‌बाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न  सो लागत अनुमान गरेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पुर्‍याएको जानकारी दिए ।

“स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुंगे पुल आंशिक क्षति र ३२ झलुंगे पुल पूर्ण रूपमा क्षति पुगेको छ,” उनले भने, “यी संरचना पूर्ण रूपमा निर्माण तथा सुधार गर्न  एक अर्ब ७७ करोड चार लाख लागत अनुमान गरिएको छ ।”

बज्राचार्यले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति अन्तर्गत वाग्मती, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्न १२ करोड ८१ लाख लागत अनुमान गरिएको जानकारी दिए ।

“अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट निर्माण भएका नदी तटबन्ध, पर्खाललगायतका अन्य संरचनामा क्षति पुगेको छ,” उनले भने, “यी संरचना बनाउन अनुमानित  ७० करोड लाग्ने छ ।”

उनका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत चाँगुनारायण, मध्यपुरथिमि, र सूर्यविनायक नगरपाालिकामा पर्खाल भत्किएको, सूर्यविनायक नगरपालिकामा सडक भासिएको, पुलमा क्षति, धोविखोलाअन्तर्गत खाउला छेउका पर्खाल, करिडोरका बाटो तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ । “यी संरचना बनाउन तथा सुधार गर्न ११ करोड ४६ लाख लाग्ने छ,” उनले भने ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *