Skip to main content

Epost Nepal

थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि, नदी र सो क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह

१ भदौ, काठमाडौँ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत सरोकारवाला निकायको टोलीले शनिबार बाढी आएको क्षेत्रको हेलिकोप्टरमार्फत निरीक्षण गरेपछि पोखरी फुटेर बाढी आएको पुष्टि भएको हो ।

त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् ।

पाण्डेका अनुसार अरु दुई वटा हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ । एउटा हिमताल भने सुरक्षित देखिएको छ । अझै दुई वटा ताल फुट्न सक्ने जोखिम देखिएको भन्दै प्रजिअ पाण्डेले थामे नदी र सो क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बताइन् ।

शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीका कारण थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो ।

बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ भने खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *