Skip to main content

Epost Nepal

मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि नयाँ सरकार गठन भएको हो : प्रधानमन्त्री केपी शर्मा ओली

४ साउन, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताएका छन् ।

नेपाल उद्योग परिसंघका पदाधिकारीसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको उल्लेख गरे ।

ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा नआएको भन्दै उनले भने, ‘म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।’

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष रुचि र ध्यान रहेको बताए । ‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो, म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ, त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ ।’

प्रधानमन्त्रीसँगको भेटमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न उच्च प्राथमिकताका साथ काम गर्न प्रधानमन्त्रीसँग निजी क्षेत्रका तर्फबाट आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *