Skip to main content

Epost Nepal

कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य: राष्ट्रिय प्रजातन्त्र पार्टी

१८ असार, काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सकारात्मक भनेको छ ।

दुई दलबीचको सहमतिपछि बदलिएको परिस्थितिबारे मंगलबार राप्रपाले पदाधिकारी बैठकमा छलफल गरेको थियो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य रहेको बताए ।

‘अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार बाहिर आइराखेको छ। त्यो सहमतिको मुख्य बुँदा भनेको संविधान संशोधन हो। संविधान संशोधन गर्न पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो, त्यसलाई हामीले प्रारम्भिक रूपमा स्वागतयोग्य विषय मानेका छौं।’

अहिलेको संविधानले काम गर्दैन भनेर राप्रपाले पहिलेदेखि नै भन्दै आएको पनि लिङ्देनले बताए।

‘यही संविधानबाट अघि जान सकिन्न भन्नेमा मुख्य दलहरू सहमत देखिएको छ,’ लिङ्देनले भने, ‘संविधान के-केमा संशोधन गर्ने, यसका प्रक्रिया के हुन्छन्, यसले कस्तो स्वरूप लिन्छ, समय थुप्रै छ। यसलाई हामीले होसियारीपूर्वक हेर्ने र आफ्ना धारणा बनाउने कुरा छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *