Skip to main content

Epost Nepal

चारवटा परियोजनाको लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत

१७ बैशाख, काठमाडौं – उद्योग विभागले चारवटा परियोजनाको लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत गरेको छ।

भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि छ अर्ब, काठमाडौंमा व्यवसायिक भवन निर्माणका लागि तीन अर्ब लगानी स्वीकृत गरिएको विभागले जानकारी गराएको छ।

त्यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सात करोड ६६ लाख स्वीकृत गरिएको छ।

ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ।

यस्तै विभागले आजै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत् विदेशी लगानी स्वीकृत हुने प्रणालीको उद्घाटन गरेको छ।

नेपाल सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी वैशाख ७ गते प्रकाशित भएको राजपत्र अनुसार शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको कम्पनीमा विदेशी लगानीकर्ताले पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत् निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ।

विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट आजकै मितिबाट आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत् आवेदन दिने बित्तिकै प्राप्त गर्न सक्नेछन् भने सोही आधारमा कम्पनी दर्ता गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *