१८ असार, काठमाडौं — संसद्मा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन।
इन्टरनेटमा समस्या आएपछि आजको बैठक युट्युबमार्फत प्रत्यक्ष देखाउन सम्भव नभएको हो।
प्रतिनिधिसभाको बैठक चार दिनपछि बसेको हो। यसअघि बैठक असार १४ गते बसेको थियो भने त्यसअघि असार ५ गते बसेको थियो।
आजको बैठकमा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ। साथै, चार वटा अध्यादेश प्रतिस्थापन विधेयकलाई अघि बढाउने कार्यक्रम पनि तय गरिएको छ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि उक्त विधेयकमाथि दर्ता भएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछन्। अन्त्यमा सोही विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गौतमले नै पेश गर्ने कार्यसूची छ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। छलफलपछि विधेयकमाथि परेका संशोधनहरू निर्णयार्थ पेश गरिनेछन् र त्यसपछि विधेयक पारित गर्ने प्रस्ताव पनि अर्थमन्त्रीले राख्नेछन्।
यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफलको प्रस्ताव पेश गर्नेछिन्। सो विधेयकमा पनि आजै दफावार छलफल सम्पन्न गरी पारित गर्ने कार्यसूची रहेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल तथा पारितको प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यी चारवटै विधेयक अध्यादेश प्रतिस्थापनका लागि ल्याइएका हुन्। संसद् अधिवेशन नभएका बेला सरकारले जारी गरेका आठ वटा अध्यादेशमध्ये चार वटा अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्मा प्रस्तुत भएका हुन्।
प्रतिनिधिसभाबाट पारित भएपछि यी विधेयक राष्ट्रिय सभामा जानेछन्। राष्ट्रिय सभाले पनि पारित गरेपछि पुनः प्रतिनिधिसभामा फर्काइनेछ र त्यसपछि सभामुखले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनेछन्। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ती विधेयक ऐनका रूपमा लागू हुनेछन्।



