१८ मंसिर, काठमाडौं — काठमाडौंको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ। मदन भण्डारी कलेज नजिक भेटिएको उक्त शवको पहिचान ५० वर्षीय ललित गिरीका रूपमा खुलेको छ, जो काभ्रे मण्डनदेउपुर–१ का स्थायी बासिन्दा भई हाल शंखमुलमा बस्दै आएका थिए।
गिरीको शव आज बिहान ६:५० बजे काठमाडौं महानगरपालिका–२९ अन्तर्गत रुद्रमति पुल मुनि फेला परेको हो। उनकी श्रीमतीले शवको सनाखत गरेकी छन्। शव नजिकै उनको साइकल पनि भेटिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उनी साइकल चलाउँदै गर्दा पुलबाट खसेका हुनसक्ने ठहर प्रहरीले गरेको छ। टाउकोमा गम्भीर चोट भेटिएकाले ढुंगामा टाउको ठोक्किँदा मृत्यु भएको अनुमान गरिएको छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन्।



