१७ मंसिर, काठमाडौं — नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माणका लागि ऋण सम्झौता सम्पन्न भएको छ। अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा यो सम्झौता हस्ताक्षर गरिएको हो।
जापान सरकारले परियोजना निर्माणका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१ अर्ब ७६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। अर्थ मन्त्रालयका अनुसार JICA मार्फत प्राप्त हुने यस ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याजदर ०.२ प्रतिशत हुनेछ।
परियोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ, जसको कार्यान्वयन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले गर्नेछ।
एक्सचेन्ज अफ नोट्स मा अर्थसचिव घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। त्यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव धनीराम शर्मा र JICA नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रमपछि JICA नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी, राजदूत मायदा तोरु र अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सम्बोधन गर्दै, द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। राजदूत मायदा तोरुले सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित कोटेश्वर चोक सुधार आयोजनाले उपत्यकाको यातायात व्यवस्थापनमा महत्त्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरे।
अर्थमन्त्री खनालले काठमाडौं उपत्यकाका अत्यन्तै जामयुक्त स्थानहरूको दीर्घकालीन सुधारका लागि अघि बढाइएको यस परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा स्थायी परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे।



