१५ मंसिर, काठमाडौं − गाजामा जारी इसराइली आक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मृतकमध्ये संख्या ७० हजार १ सय पुगेको छ।
रोयटर्सका अनुसार, इसराइलले गरेको हवाई हमलाबाट ध्वस्त बनेका संरचनाहरूको भग्नावशेषबाट पछिल्ला तीन दिनमै ३०० भन्दा बढी शव फेला परेका छन्। अझै पनि धेरै शव भग्नावशेषभित्र रहेको अनुमान गरिएको छ।
युद्धविराम लागू भए पनि इसराइलले विभिन्न आरोपका आधारमा गाजामा आक्रमण जारी राखेको बताइएको छ। हमासले युद्धविराम सम्झौतामाथि उल्लंघन गरेको र नियन्त्रण रेखामा इसराइली सैनिकको हत्या गरिएको आरोप लगाउँदै इसराइलले हमासमाथि लक्षित आक्रमण गरिरहेको थियो।
दुई वर्षदेखिको युद्धमा गाजामा भएका कुल मृत्युका तथ्यांकबारे भने इसराइलले कुनै टिप्पणी गरेको छैन। इसराइली पक्षले गाजाबाट आउने मृतकसम्बन्धी तथ्यांकको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आए पनि आफ्ना आधिकारिक अनुमान अझै सार्वजनिक भएको छैन।
सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी करिब १,२०० जनाको हत्या र २५१ जनालाई बन्धक बनाएपछि यो युद्ध सुरु भएको हो। त्यसपछि इसराइलले गरेको प्रत्याक्रमणले गाजाको ठूलो भूभाग विनाशमा परिणत भएको छ।
युद्धका सुरुका महिनाहरूमा अस्पतालमा ल्याइएका शवका आधारमा मृतक संख्या गणना गरिएको थियो। तर पछिल्ला महिनाहरूमाआएको हजारौँ मृत्युका प्रारम्भिक सूचनालाई आधिकारिक सूचीमा राख्न फरेन्सिक, चिकित्सकीय तथा कानुनी प्रक्रियापछि मात्र मान्यता दिइएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
अक्टोबर १० देखि लागू भएको कमजोर युद्धविरामपछि भग्नावशेष हटाउने र खोजी कार्यमा विस्तार भएको कारण मृतक संख्या झनै बढ्दै गएको हो।
केन्द्रीय गाजाको बुरेज शरणार्थी शिविर नजिकै दुई आवासीय भवनमा भएको हवाई आक्रमणमा मोआज म्घारीका ६२ जना आफन्तको मृत्यु भएको उनले रोयटर्सलाई बताए। विस्फोटपछि घर फर्कँदा आफ्नो परिवार बस्ने भवन पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको दृश्य देखेको उनले स्मरण गरे।
“त्यो क्षणमै मैले सबै गुमाएँ,” उनले भने।
इसराइली सेनाले भने द्वन्द सुरु भएयता आफूहरूले सर्वसाधारणलाई लक्ष्य नगरेको दाबी दोहोर्याइरहेको छ।



