१४ मंसिर, काठमाडौं − नेपाली क्रिकेटमा दुई दशक बिताइसकेका पृथु बाँस्कोटाले अहिले चलिरहेको एनपीएल हेर्न टीयू मैदान पुगेका बेला आफू धेरै भावुक भएको बताए ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ, जहाँ कर्णाली याक्स र काठमान्डु गोर्खाजबीचको भिडन्त दिउँसो ३:३० बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा यू–१९ राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पुथु बाँस्कोटाले आजै हुने खेल, नेपाल प्रिमियर लिग, र नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे सिद्धार्थ बैंक ओके एनपीएल बजसँग कुराकानी गरेका छन्।
दुई दशकको क्रिकेट यात्रापछि टीयू मैदानमा बसेर एनपीएल हेर्दा आफू निकै भावनात्मक भएको उनले बताए।
उनका अनुसार, “नेपाली क्रिकेटले दुई दशकमा गरेको प्रगति प्रशंसनीय छ। टीयू मैदानमा गएर खेल हेर्दा निकै इमोसनल भएँ। एकछिनका लागि त त्यो टीयू मैदान नै हो कि जस्तो पनि लागेन, निकै परिवर्तन देखिन्छ। टीयू एसोसिएट क्रिकेटको iconic मैदान हो,” उनले बताएका छन्।
पुथुले केही समयअघि मात्रै टीयूमा फ्लडलाइटअन्तर्गत रातिको खेल सम्भव नदेखिए पनि सबै पक्षको प्रयासले अहिले त्यो सम्भव भएको पनि उल्लेख गरे।
उनका शब्दमा, “मलाई पनि अन्डर–लाइट एनपीएल हुन्छ जस्तो लागेको थिएन, तर CAN लगायत सबैले राम्रो काम गर्नुभयो।”
उनले नेपाली खेलाडीहरूको प्रदर्शन आजको खेलमा निर्णायक हुने उल्लेख गरे। “बसिरले जस्तो इनिङ्स खेलेर देखाए, अरू खेलाडीले पनि त्यस्तै प्रदर्शन गरे राम्रो हुन्छ,” पृथु भन्छन्।
आज हुने कर्णाली र काठमान्डुको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको उनले बताए।
“काठमान्डुले जिते प्लेअफको सम्भावना बलियो हुन्छ। कर्णालीका लागि भने यो ‘must-win’ म्याच हो। यदि कर्णालीले जित्यो भने तालिका अझ रोचक बन्छ,” पृथुको भनाइ छ।
त्यसैगरी, उनले यस सिजन अहिलेसम्म अपराजित रहेको एकमात्र टिम, सुदूरपश्चिमको टिम बन्डिङ उत्कृष्ट रहेको पनि बताए।
उनका अनुसार, “सुदूरपश्चिमको टिमको energy राम्रो छ। फ्यानहरूको support पनि राम्रो छ। टप–अर्डरदेखि सबैले राम्रो खेलिरहेका छन्। क्रिस लिन अझ यस मैदानमा खुल्न बाँकी छ।”



