१० पुस, काठमाडौं — मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका चर्चित क्रिकेटर मिनष थापाको निधन भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका–४ को भित्री सडक खण्डमा २७ वर्षीय थापाको ज्यान गएको हो ।
विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
थापा विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका खेलाडी हुन् । उनले कोशी प्रदेशबाट विभिन्न फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाएका थिए ।



