६ पुस, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेनन।
निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित केही सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।
उक्त रिटमा पक्ष कायम गर्न कांग्रेसका अन्य सांसदहरूले पनि हस्ताक्षर गर्दै आएका छन्। संसदीय कार्यालय स्रोतका अनुसार कांग्रेसका निवर्तमान ८८ सांसदमध्ये आइतबार दिउँसोसम्म ६६ जनाले हस्ताक्षर गरिसकेका छन्।
तर सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालासहित केही निवर्तमान सांसदहरूले भने हस्ताक्षर गरेका छैनन्। ‘निवर्तमान सांसद रहेका सभापति, कार्यवाहक सभापति र महामन्त्रीसहित शीर्ष नेताहरूले हस्ताक्षर गर्नुभएको छैन,’ संसदीय दल कार्यालय स्रोतले भन्यो, ‘हस्ताक्षरको प्रक्रिया भने जारी छ, तर शीर्ष नेताहरूले हस्ताक्षर नगर्ने सम्भावना देखिएको छ।’
यसअघि कांग्रेसको केन्द्रीय समिति बैठकले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। केन्द्रीय समिति बैठक चलिरहेकै बेला निवर्तमान प्रमुख सचेतक घिमिरेको नेतृत्वमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि हस्ताक्षर संकलन सुरु गरिएको थियो, जसमा ४५ जना सांसदले हस्ताक्षर गरिसकेका थिए।
त्यतिबेला सभापति देउवा उपचारका लागि सिंगापुरमा रहेका थिए भने कार्यवाहक सभापति खड्काले हस्ताक्षर संकलन नगर्न आग्रह गरेपछि प्रक्रिया रोकिएको थियो।



