Skip to main content

Epost Nepal

मलेसियामा व्यापक धरपकड: सेलायाङ बारुबाट नेपालीसहित ८४३ विदेशी श्रमिक पक्राउ

२३ मंसिर, काठमाडौं — मलेसियाले कागजातविहीन विदेशी श्रमिकविरुद्ध चलाउँदै आएको कारबाहीलाई तीव्र बनाउँदै सेलायाङ बारु क्षेत्रबाट ८४३ जनालाई पक्राउ गरेको छ। मलेसियन सञ्चारमाध्यमका अनुसार पक्राउ परेका मध्ये ८०८ पुरुष र ३५ महिला रहेका छन्। उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्म छ।

सेलाङ्गोर राज्यका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दीन शारीले विदेशी श्रमिकको अनियमित प्रवेश, कागजातविहीन बसोबास र सडक छेउमा गैरकानुनी व्यापार बढेपछि अभियान सुरू गरिएको बताए। उनका अनुसार यसअघि पनि सेरी मुडा, सेलाङ्गोर होलसेल मार्केटसहितका क्षेत्रमा यस्तै कारबाही चलाइएको थियो।

पक्राउ परेकामध्ये नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका नागरिक छन्। समितिले देशगत विवरण सार्वजनिक गरेको छैन। इमिग्रेसन विभागका अनुसार धेरैजसो श्रमिकसँग परिचय पत्र नभएको, भिसा र पासका सर्त उल्लंघन गरेको, बसाइ अवधि नाघेको वा नक्कली कागजात प्रयोग गरेको जस्ता आरोप छन्।

पक्राउ परेकालाई थप छानबिनका लागि सेमेनिह इमिग्रेसन डिपोमा लगिएको छ। सिलायाङ बारु क्षेत्रमा विदेशी श्रमिकको घनत्व बढ्नुको कारण सस्तो भाडा भएको इमिग्रेसन स्रोतको भनाइ उद्धृत गरिएको छ।

मुख्यमन्त्री आमिरुद्दीनले अवैध आप्रवासी पहिचान, पक्राउ, मुद्दा दायर र देश निकाला प्रक्रिया निरन्तर चलाइने बताए। उनले वैधानिक प्रक्रिया प्रयोग नगरी श्रमिक भर्ना गर्दा व्यवसाय प्रभावित हुने र राष्ट्रिय सुरक्षासमेत जोखिममा पर्ने चेतावनी रोजगारदाताहरूमाथि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *