Skip to main content

Epost Nepal

सरकारको १०० दिनका उपलब्धि सार्वजनिक, गर्छु भनेर तय गरेका कामहरूमध्ये ७० प्रतिशत पूरा भएको दाबी

७ कात्तिक, काठमाडौं – सरकारले १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका हुन् ।

बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै उनले आफू प्रधानमन्त्री भएपछि ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई पहिलो प्राथमिकतामा राखेको र त्यसअनुसार सय दिनमा गर्छु भनेर तय गरेका कामहरूमध्ये ७० प्रतिशत पूरा भएको बताए ।

‘पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालय अन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोकेका थियौँ,’ ओलीले भने, ‘अहिले १०० दिनपछि हेर्दा सबै मन्त्रालयले गर्ने भनेका २७४ वटा काममध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन् । अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्थ्यो ।’

अर्को प्रसंगमा ओलीले सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए । ओलीले ६०० सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए ।

“सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ,” ओलीले भने, “६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा छन् ।”

उनले सहकारी ठगलाई कारबाहीमात्रले सरकारको दायित्व पूरा नहुने भएकाले बचतकर्ताको रकम पनि फिर्ता गराउने आश्वासन दिए ।

उनले सरकार ढल्ने दिवासपना नदेख्न चेतावनी पनि दिए । “कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ,” ओलीले भने ।

उनले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाउने गरिएको पनि बताए ।

“सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह पनि फैलाउने गरिएको छ,” उनले भने, “यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो ।”

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *