Skip to main content

Epost Nepal

समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्द्वमा फस्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको चेतावनी

३० असोज, काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्द्वमा फस्ने चेतावनीसमेत दिएका छन् ।

मुलुकमा विद्यमान निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेका बेला मन्त्री गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताए ।

बुधबार रेडियो नेपालको दनुवार भाषाको समाचार तथा कार्यक्रमको शुभारम्भमा मन्त्री गुरुङले मुलुकलाई अर्को द्वन्द्वमा फस्न नदिन पनि मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको स्पष्ट पारे । ‘हामीले किन यो मिश्रित निर्वाचन प्रणाली अपनायौँ ? प्रश्नहरू उठिराखेका छन् । यो समानुपातिक हटाउनु पर्‍यो भन्छन् । तर समानुपातिक हटायो भने हामी अर्को द्वन्द्वमा जान तयार हुनुपर्दछ, यो कुरा सबैले बुझ्नुपर्दछ,’ उनले भने ।

कतै संसदीय शासन प्रणाली त कतै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले काम गरेको मन्त्री गुरुङको भनाइ थयो । ‘कुनै ठाउँमा संसदीय प्रणालीले राम्रो काम गरेको छ, कुनै ठाउँमा राष्ट्रपतीय शासन प्रणालीले राम्रो काम गरेको छ,’ उनले भने, ‘प्रणाली जुनसुकै भएपनि त्यहाँ त्यो प्रणाली ठिक ढंगले चलाउन त्यहाँका पार्टीहरूले, नेताहरूले जान्नुपर्‍यो । हामीले प्रणालीमा दोष दिने होइन, हामीले हाम्रो व्यवहारमा, आचरणमा र शैलीमा दोष खोज्नुपर्दछ । अनि, हामी सुध्रिएर जानुपर्दछ ।’

नेपालको राष्ट्रिय एकता प्रबर्धन गर्नका लागि सबैलाई बराबर अधिकार दिनुपर्ने मन्त्री गुरुङको भनाइ थियो । ‘नेपालको राष्ट्रिय एकताको प्रबर्धनको लागि पनि सबैलाई बराबर अधिकार दिएर अघि बढ्नका लागि, राष्ट्रिय एकताको प्रबर्धन हुन्छ भनेर हामी संघीयतामा गएको हो । देशमा कुनै विभेद, झगडा नहोस् भनेर संघीयतामा मुलुक गएको हो । हामी संघीयतामा जानुको अर्को कारण सरकार जति नजिक भयो, त्यति बढी जनताको सेवा गर्न सक्छ । अनि जनताले पनि आफूले चुनेका प्रतिनिधिहरू आफ्नो नजिकै बसेर काम गरिरहँदाखे‍रि उसले सबै चिज उसले गरेको गल्ती, कमजोरी, राम्रो, नराम्रो सबैमा निगरानी राख्न सक्दछ । त्यसकारण जनताको निगरानी जनप्रतिनिधिहरूमाथि बढी हुन्छ यो संघीय शासन प्रणालीमा,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *