१२ असोज, काठमाडौं – सरकारले प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने र घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय पनि गरेको छ ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाहरूलाई निशुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै, अवरुद्ध सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय गरेको छ । खानेपानी, विद्युतलगायतका सेवा सुचारु गर्नेबारे पनि सम्नब्धित मन्त्रालयले समन्वय गरी काम थाल्ने सरकारले निर्णय गरेको छ ।



