६ असोज, काठमाडौं – सहकारी संस्थाका बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका छविलाल जोशी पक्राउ परेका छन् ।
कास्की प्रहरीको पत्रका आधारमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले जाेशीलाई शंखमूलबाट पक्राउ गरेको हाे ।
संसदीय विशेष छानबिन समितिको प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोरखा मिडियाका संचालक जोशीसहित कार्यकारी अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र संचालक कुमार रम्तेलविरुद्ध कारबाही सिफारिस गरिएको छ ।
गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए । उक्त निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन् ।
जोशीमाथि सहकारीको बचत अपचलनबारे सिआइबीले पनि अनुसन्धान गरेको थियो ।
ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ३५ प्रतिशत सेयर थियो । टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए । उनले छाडेपछि उक्त सेयर पनि अध्यक्ष जिबी राईकै नाममा रहेको थियो ।



