२ असोज, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छानबिन समितिको अध्ययनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको ‘एक महिने विशेष अभियान’को शुभारम्भ गर्दै सभापति देउवाले लामिछानेले सहकारी ठगी गरेको विषय सुरुमा आफूलाई अपत्यारिलो लागेको बताए ।
उनले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन खेलेको भूमिकाप्रति धन्यवाद दिए ।
‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले त पत्याएकै थिइनँ, यस्तो छ भनेर । सहकारीको विषय । मैले वास्तवमा पत्याएकै थिइनँ । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने धेरै चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर,’ सभापति देउवाले भने ।



