२९ भदौ, विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ ।
अध्यक्ष दाहालले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए ।
तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’
प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि शुक्रबार बसेको संवैधानिक परिषदको बैठक कुनै निर्णय नगरी सकिएको थियो ।



