१६ भदौ, काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
कार्यालयका सहसचिव हिरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरंग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन्।
गृह मन्त्रालयले जारी गरेको सूचना सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न)मा भएको व्यवस्थाअनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख छ।
सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ।
अधिकांश निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक दिनमा पनि सेवा प्रवाह गर्न भनिएको जनाइएको छ। मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्नसमेत अनुरोध गरेको छ।
विशेष व्यवस्थामा अस्पतालसहित नागरिकतासम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र, राहदानी, वैदेशिक रोजगार सेवालगायत सेवा सार्वजनिक बिदाका दिन पनि अन्य दिनसरह सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। -रासस



