११ भदौ, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने भएको छ ।
विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउनुका साथै स्वास्थ्य क्षेत्रमा सुधार गर्न समिट आयोजना गर्ने लागिएको हो ।
सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू संकलन गर्ने मन्त्रालयको तयारी छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार ‘नेपाल हेल्थ समिट-२०२४’ गर्ने निर्णय गरेका हुन् । सम्मेलनमार्फत स्वास्थ्य सुधारका लागि आवश्यक कार्यक्रम र नीति निर्माण तथा योजना बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा. प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा स्वास्थ्य विज्ञ डा. शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइराला धुलिखेल अस्पतालका डा. विराज कर्माचार्य सदस्य छन् । यस्तै विज्ञहरूमा डा. रुना झा, डा. अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि सदस्य रहने छन् ।
कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्ययोजना तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।



