१७ असार, काठमाडौं – नेपाली कांग्रेसले चीन सरकारले अघि सारेको बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ ।
सोमबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले बीआरआईलाई ‘सहयोग वा अनुदान’को रुपमा स्वीकार गर्न सकिने, तर ऋणकारुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको हो ।
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले बैठकले बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको बताए ।
‘हामी पहिल्यैदेखि ऋणमा छौँ । फेरि अहिले अनुदान र सहयोगमा प्राप्त परियोजनाहरु समेत पूरा गर्न नसकिएको अवस्था छ । यस्तो बेलामा थप ऋण लिएर विकास निर्माणको काम अगाडि बढाउन सकिन्नँ । अनुदान सहयोगकै उपयोग हुन नसकिरहेको अवस्थामा हामीले ऋण लिनु ठीक हुँदैन भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने, ‘यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’
विगत कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा चीनले परियोजना अघि बढाउन चाहेकोमा त्यसबेलै नेपालले अनुदान, सहुलियत ऋण र लगानीलाई मात्र स्वीकार गर्ने जवाफ दिएको थियो ।
चीनले भने सो परियोजनालाई सहयोग र सहकार्यकारुपमा ‘कमर्सियल’ ऋण भनेको छ । नेपाल सन् २०१७ मा बीआरआईको सदस्य मुलुक बनेको थियो ।



