१५ असार, काठमाडौं -नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टको काँधमा रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले नेपाली विशेषताको समाजावादका कार्यक्रम एकीकृत समाजवादीले ल्याउन लागेको बताए ।
कम्युनिस्टले पहल गर्दा नेपाली राजनीतिमा ठूलठूलो परिवर्तन भएको भन्दै उनले सबै मिलेर विचारविमर्श गर्न आवश्यक रहेकामा जोड दिए ।
उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले उत्तारचढाव, उकाली ओराली, एकता, विघटनका कामहरु भइरहेको भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।
उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन आज उत्तारचढाव, उकाली ओराली, एकता, फेरि विघटन, फेरि पुनःगठन, विभाजन, फेरि पुनःएकता यही प्रक्रियामा अघि बढिरहेको छ । अहिलेको अवस्था हेरेर हामी धेरै चिन्तित हुनुहुँदैन । तर गम्भीर हुनुपर्ने आवश्यकता छ । कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूला-ठूला परिवर्तन भएका छन् । तरंग सिर्जना गरेका छन् । अहिले पनि समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ । हामीले नेपाली विशेषताको समाजावादका कार्यक्रम ल्याउँदैछौँ ।’



