Skip to main content

Epost Nepal

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेका प्रतीक थापा पक्राउ

१४ असार, काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ परेका छन् ।

प्रहरीले थापालाई शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो । प्रतीक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । बाबु रामबहादुर थापा गृहमन्त्री भएका बखत विचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो ।

२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए । २०८० वैशाख २१ मा प्रेस विज्ञप्ति जारी गरी प्रतीकले आफू यसमा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताएका थिए । तर प्रहरी अनुसन्धानकै क्रममा उनी फरार थिए । त्यसपछि प्रहरीले ०८० वैशाख ३१ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *