१४ असार, काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एसइई परीक्षामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुको समीक्षा गर्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले कहाँनेरको समस्याको कारण ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भए भन्ने विषयको खोजी हुनुपर्ने बताएका हुन् ।
‘समस्या कस्तो हो? अध्ययनको हो वा अध्यापनको? अथवा राज्यको? गम्भीरतापूर्वक समीक्षा गर्नैपर्छ। वर्षौंदेखि यो प्रक्रिया निरन्तर जारी छ। परीक्षा प्रणालीमा समस्या छ कि नतिजा प्रणालीमा समस्या छ ? अथवा अहिले देखिएको शैक्षिक मोडालिटीमा समस्या छ भन्ने विषयमा हामीले समीक्षा त गर्नैपर्छ,’ उनले भने ।
सांसद दाहालले विद्यालयमा विद्यार्थी हुने तर शिक्षक दरबन्दी नै नहुने विषय सबैलाई थाहा भएको बताए। दरबन्दी भएका विद्यालयमा विद्यार्थी नहुने र विद्यार्थी र शिक्षक दुवै भएको ठाउँमा विद्यालय भवन नै नहुने उनले बताए ।
‘जुन विद्यालयमा सुविधासम्पन्न भवनहरू छन् तर त्यहाँ विद्यार्थी र शिक्षक छैन,’ उनले भने ।
उनले अंग्रेजी, गणीत र विज्ञानमा सबैभन्दा बढी अनुत्तीर्ण भएको देखिएकाले अध्यापन प्रणालीमा वा शैक्षिक गुणस्तरमा समस्या हुनसक्ने बताए ।
‘दीर्घकालीन समाधान भनेको विद्यालय संघीय शिक्षा ऐन नै हो। समितिमा गएर थन्किएको महिनौं भएको छ। परिमार्जन सहित सदनमा ल्याएर शीघ्र पास गर्ने र यसको व्यवहारिक कार्यान्वयनको निम्ति ध्यानाकर्षण गर्छु,’ उनले भने ।



