११ असार, काठमाडौं – कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा पार्टी १०० क्षेत्र प्रत्यक्षमा जित्ने गरी लाग्नुपर्ने बताएका छन् ।
उनले प्रतिनिधिसभाको निर्वाचन २०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्ने र त्यसका लागि १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १०० क्षेत्र प्रत्यक्षमा जित्ने र समानुपातिकतर्फ ४० प्रतिशत मत ल्याउने लक्ष्य लिएर अगाडि बढ्नुपर्ने बताए ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै थापाले पार्टी अब सत्ता भन्दा पनि पार्टी निर्माणतिर लाग्नुपर्ने बताए । ‘यो संसद्को बाँकी अवधि कांग्रेसले सत्तातिर हेर्नुहुँदैन, पार्टी निर्माणमा लाग्नुपर्छ, २०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लागौँ, एक सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एक सय क्षेत्र जित्ने गरी लागौँ,’ उनले भने ।
महामन्त्री थापाले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान आग्रह पनि गरे । २०८० माघमा सम्पन्न महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने अवधि तोकेको उनले स्मरण गराएका थिए ।



