८ असार, काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आन्तरिक व्यवस्थाको सन्दर्भमा अरूसँग तुलना गर्दा कांग्रेस बढी लोकतान्त्रिक रहेको उनले जिकिर गरे ।
उनले नयाँ राजनीतिक दल आन्तरिक लोकतन्त्रको अभ्यास नै नगर्ने गरी आएको टिप्पणी गरे । नयाँ राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।
“नयाँ आएको राजनीतिक पार्टीमा त्यो पार्टीको नेतृत्वले गल्ती गरे तैँले गल्ती गरिस् भनेर भन्ने आँट कसैको पनि हुँदो रहेन छ,” उनले भने ।
सम्पूर्ण रूपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पन्जाभित्र नयाँ पार्टी रहेको उनले बताए । नेतृत्वले नियन्त्रण गरेको पार्टी कांग्रेस हुन नहुनेमा उनले जोड दिए । आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुने गरी पार्टीलाई अघि बढाउनुपर्ने उनले उल्लेख गरे ।



