१ असार, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको टिप्पणी गरेका छन् ।
शनिवार कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका हुन् ।
थापाले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको बेला समेत प्रधानमन्त्री दाहालले प्रधानमन्त्री नै बन्नेबाहेक अन्य काममा कुनै सक्रियता नदेखाएको आरोप लगाए ।
उनले भने, ‘देशको अर्थतन्त्रको हिसाव किताव बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन ।’
उनले सरकारमा सहभागी दल नेकपा एमालेले सरकारले जुनियर मन्त्रीहरु पठाएर सरकारको जिम्मेवारीबाट पन्छिन खोजिरहेको आरोप लगाए । उनले भने, ‘एमाले सरकारमा सामेल त छ । तर सरकारमा उसले जुनियर नेताहरुलाई मात्रै मन्त्री बनाएर पठाएको छ । हेर्दाखेरि मात्रै जुनियर मन्त्रीहरु पठाएको होइन । किनभने सरकारमा आफू बस्नेपनि । तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने । बजेटमा कसरी पन्छियो ? तपाईहरुले देखिहाल्नुभयो ।सरकार आफ्नो छ । यो बजेट माओवादीको जस्तो देखियो । यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ ।’



