१ असार, काठमाडौं – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको भन्दै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।
शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए ।
उनले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको बताए । उनले कुनैपनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसावले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिए ।
उनले भने, ’शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्नेकुरा अहिले हामीले अनुभव गरिरहेका छौँ । किनभने अहिले सरकारको नेतृत्व गरिहेको छौँ, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसावले नै चलिरहेको छ । हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसावले कुनै किसिमको सम्झौता गर्नुपर्यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिर आउन तयार छ । हामी राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ ।’



