२९ जेठ, काठमाडौं – सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा र उपमेयर मोक्तानसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले आरोपित सबैलाई कायम भएको बिगो छुट्टाछुट्टै असुल गर्नुपर्ने मागदाबी लिएको छ । उनीहरुविरुद्ध भरत ताल निर्माणको आवरणमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग लगाइएको छ ।
मेयर थापाविरुद्ध यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा २०८० चैत २८ मा पनि ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन् । थापा माओवादीबाट निर्वाचित मेयर हुन् । उक्त मुद्दाको विशेषबाट किनारा नलाग्दै थापासहित नगरपालिकाका पदाधिकारी तथा कर्मचारीविरुद्ध पदको दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको कसुरमा अर्को मुद्दा दायर भएको हो ।



