२७ जेठ, काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे ।
उनले नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताए । त्यस्तै, नेकपा माओवादी केन्द्रको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने उनको टिप्पणी छ।
उनले भने, ‘यदि हाम्रो नवौं महाधिवेशनले त्यो गलत निर्णय गरेको हुँदैन थियो भने आज हामीले समाजवादी जुन कार्यक्रम हामीले बनाएका छौँ, २०७५ सालमै नेपाली विशेषताको कार्यक्रम बनिसकेको हुन्थ्यो, कमरेड माधवकुमार नेपालले जितेको भए । हामीले ५ महिना पाएको भए हामीले त्यतिबेलै कार्यक्रम ल्याउने थियौँ । त्यो काम ०७५ सालमा गर्नु पर्दथ्यो, अहिले २०८१ मा हामी गर्दैछौँ । मुलुकले भयंकर ठूलो क्षति व्यहोरेपछि नेकपा एकीकृत समाजवादी ले आज यो कार्यक्रमलाई अगाडि लिएर आउँदैछ ।’
उनले पार्टीको आसन्न महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिने बताए । ‘यो सारा क्रान्ति नेकपा एमालेले गर्दैन किनभने त्यो नगर्नका लागि नै बनेको पार्टी हो । त्यो एक हिसावले व्यक्ति पूजा । आगामी दिनमा व्यक्तिपूजाको अझै ठूलो प्रयत्न गर्नेछ । यसकाबिरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ,’ उनले भने, ‘माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ । उसको त्यो हिसावले सिद्धान्त बुझ्ने उमेर भएको छैन । नेकपा माओवादी केन्द्रको उमेर पुगेको छैन । उसले धेरै समय लगाउँछ । हाम्रो यो सानो पार्टी नेकपा एकीकृत समाजवादीका काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ ।’



