१७ जेठ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मधेसी दलका शीर्ष नेताहरूबीच पछिल्लो राजनीतिक अवस्था र सम्भावित समीकरणबारे छलफल भएको छ ।
बुधबारको बैठकमा अध्यक्ष नेपालसहित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।
देउवा निवासमा भएको बैठकमा सहभागी भएका एक नेताका अनुसार मधेश प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउनेसहित समसामयिक राजनीतिक विषयहरुमा र अहिलेको पछिल्लो सम्पूर्ण राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेशमा पनि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपा नेपालले कांग्रेससहित अन्य दलसँग मिलेर सरकार बनाउने प्रयास गरिरहेको हो ।
मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।



