१४ जेठ, काठमाडौं – सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पक्ष र विपक्षमा उभिएका नेपाली कांग्रेस र नेकपा एमाले अब एक अर्काको विरोधमा उत्रिएका छन् ।
यी दुई दलबीच सहकारीको बचत अपचलनमा प्रस्ट दुईधार छ । एमाले प्रस्ट रवि बचाउमा उत्रिएको छ । कांग्रेस रविलाई जुनसुकै हालतमा कमजोर बनाउने लाइनमा छ ।
यही लाइनका बीच केही समयअघि संसदीय दलको बैठक लाइभ गरेर पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनमा कांग्रेसलाई बोल्न नदिने बताएका थिए । त्यसको भोलिपल्ट सदनमा मुठभेडनै भयो । त्यसयता सदन सौहार्द वातावरणमा चल्न सकेको छैन । वाकयुद्ध नेताहरूबीच पेचिलो बनेको छ ।
यसैबीच आइतबार कांग्रेसले गरेको सडक प्रदर्शन र महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्तिलाई लिएर एमाले आक्रोशित छ । एमालेले यी अभिव्यक्तिलाई कांग्रेसले फिर्ता नलिए, लिखित र सार्वजनिक रूपमा माफी नमागे कडा प्रतिवादमा उत्रने चेतावनी दिइसकेको छ ।
यता, कांग्रेसले वादविवादको शृङ्खला एमालेले सुरू गरेको भन्दै प्रतिवादमा उत्रनु केपी शर्मा ओलीलाई सोध्नुपर्ने हो भन्ने जवाफ दिएको छ । उसले नेपालमा संविधान छ र त्यो संविधानले वाद प्रतिवादको अधिकार दिएको छ भन्दै नेपाललाई उत्तर कोरिया बनाउन नखोजे हुने चेतावनी दिइरहेको छ ।
सोमबार बिहान बालुवाटारमा शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले पछिल्ला दिनमा एमाले र अध्यक्ष ओलीमाथी टार्गेट गरेको आरोप लगाएका थिए ।
उनले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कांग्रेसले प्रायोजित पूर्वाग्रही तथ्यहीन गलत भ्रामक र आधारहीन लान्छना लगाएको भन्दै आक्रोश पोखे । “यसप्रकारको आधारहीन यसबाट पछि हट्न अनुरोध गर्न चाहन्छु । यसबाट पछि हटेन भने यसविरुद्ध राजनीतिक प्रतिवादमा हामी उत्रन्छौं,” उनले भने ।
कांग्रेस सहमतिमा पुग्न भन्दा पनि परिस्थिति बिथोल्न लागि परेको आरोप उनको थियो । साथै उनले आफ्नो अध्यक्षमाथि लगाएको आरोपमा लिखित र सार्वजनिक रूपमा माफी माग्न कांग्रेसलाई अनुरोध गरे । कांग्रेसले यसो नगरे सबै राजनीतिक सम्बन्ध तोडिन सक्ने चेतावनी उनको थियो ।
“लिखित रुप्मा क्षमा याचना गर्नुपर्छ सार्वजनिक माफी माग्नुपर्छ । अन्यथा कांग्रेससाग सम्बन्ध ठिक ढंगबाट सम्बन्ध अघि बढ्दैन । बुझोस् यस प्रकारको अराजनितिक आरोपलाई सुनेर एमाले बस्दैन,” उनले भने ।
नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष ओलीको इसारामा अहिलेको सबै खेल भइरहेको भन्ने सार्वजनिक टिप्पणी गर्दै आएको छ ।
कांग्रेसबाट बोल्ने अधिंकास नेताहरूले ओलीकै डिजाइनमा यो सबै भइरहेको आरोप लगाउने गरेका छन् । साथै, संसद् पनि ओलीको डिजाइनमा सभामुखले पेलेर चलाइरहेको कांग्रेसको आरोप छ ।
पौडेलेको अभिव्यक्तिको केही घण्टा पश्चातनै कांग्रेसले प्रतिवाद गर्यो । महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गरे । बूढानीलकण्ठमा बसेको पार्टी बैठकबाट निश्कने क्रममा उनले नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संविधानले वाद प्रतिवादको अधिकार दिएको बताए ।
उनले ‘विष्णु पौडेल भनेको उता बुटवलतिरको पार्टीको केन्द्रीय उपसभापति.. ? उहाँ एक जिममेवार राजनीतिज्ञ हुनुहुन्छ र उहाँले त्यसो भन्नुभएजस्तो लाग्दैन’ भन्दै घुमाउरो जवाफ दिए ।
गिरीबन्धु जग्गा प्रकरणमा अदालतको पूर्णपाठ आउँदा कांग्रेसले प्रतिकृया नदिएको तर उग्र रूप धारणा गर्दै ओलीले प्रतिकृया दिएको भनाई उनको थियो । “उहाँले कांग्रेस पार्टीले ५१ बिघा बेचेर खायो भन्नुभयो । सँगै बसेर संविधान बनाएको हो नि । उहाँले आरोप लगाउन छुट दिने प्रतिवाद गर्न कांग्रेसले उहाँलाई सोध्नुपर्दैन,” उनले भने ।
महामन्त्री शर्माले गिरीबन्धु प्रकरणमा ५२, ६० र ७८ सालको सरकारमा कांग्रेस नभएको भन्दै थपे, “कांग्रेसको तर्फबाट महामन्त्री विश्वप्रकाशले बोल्यो होला सहकारी बन्धु र गठबन्धन भनेर । उहाँले बोल्दा कांग्रेसले गिरीबन्धुको जग्गा बेचेर कमिसन खायो भनेको होइन ? त्यो भनेपछि हामीले तथ्य राख्नुपर्यो नि ।”
ओलीले रुद्ररुप धारणा गर्ने हो भने आफूहरूले मौनरुप धारण गर्नुपर्ने आवश्यकता नभएको भनाइ उनको थियो ।
“लिखित क्षमा याचना भन्नुभयो रे । मैले हेर्न पाएको छैन । तर, भनेको हो भने संविधान सँगै बसेर लेखेको हो । उहाँले गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेसलाई छ । यो उत्तरकोरिया हैन यो नेपाल हो , दिस इज नेपाल ।”



