१३ जेठ, काठमाडौं – प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
सरकारविरुद्ध आइतबार कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै शर्माले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप छ ।
‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भरतपुरका रवि लामिछानेलाई समय लाग्छ ।’
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयबाटै गिरफ्तार गरिएको तर दुईवटा नागरिकता भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमा रहेको शर्माको भनाइ थियो । त्यस्तै, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले दुईवटा नागरिकता लिँदा पनि संसद् सचिवालयले चलाइरहेको शर्माको भनाइ थियो ।
‘अहिले यो देशको गृह मन्त्रालय चलाएर बसेको व्यक्ति गृहमन्त्रीको दुईवटा नागरिकताको विषय अहिले पनि अदालतमा विचाराधीन छ । कान्तिपुर दैनिकका प्रकाशक, कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई कार्यकक्षबाट गिरफ्तार गरियो । यो खालको व्यवहार ?,’ महामन्त्री शर्माले भने, ‘कसैले दुईवटा पासपोर्ट भएर गृहमन्त्रालय चलाउन पाउने, कसैले दुईवटा नागरिकता भएर संसद्को सचिवालय चलाउन पाउने अनि कसैले नागरिकताको सवालमा सहयोग गर्छु भन्दाभन्दै पनि कार्यकक्षबाट गिरफ्तार गरेर लिएर जाने ?’
नागरिकतामाथि छानबिन भन्दै गर्दा उपप्रधान तथा गृहमन्त्रीको नागरिकता र पासपोर्टको मुद्दा किन छानबिन भएन भनेर शर्माले सोधेका छन् । ‘छानबिन गर्ने भन्दाखेरि गृहमन्त्रीको दुईवटा पासपोर्टको विषय सार्वजनिक भएको छ । महान्यायाधीवक्ता कार्यालयले भन्यो कि उहाँमाथि मुद्दा चलाउनु पर्दैन,’ शर्माले प्रश्न गरे, ‘महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? कहिले लेखेर दिन्छ पासपोर्टमा मुद्दा चल्दैन, कहिले भन्छ सहकारीमा दोषी हुनुहुन्न ! ममाथिको छानबिनमा म सघाउँछु भन्दा पनि कैलाश सिरोहिया जेलमा ? रवि लामिछाने गृह मन्त्रालयमा बस्ने उस्तै मुद्दामा कैलाश सिरोहिया कारागारमा बस्ने ?’
सिरोहियालाई नागरिकता मुद्दा लगाएर अनुसन्धान भइरहेको अवस्थामा गृहमन्त्री लामिछानेको पासपोर्टको मुद्दा किन अघि बढिरहेको छैन ? भनेर पनि शर्माले सोधेका छन् । ‘जवाफ चाहियो, कैलाश सिरोहियाको नागरिकताको छानबिन धनुषामा हुँदैछ; गृहमन्त्री रवि लामिछानेको पासपोर्टको मुद्दा किन अघि बढिरहेको छैन ?,’ उनले भने ।
सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि गम्भीर छानबिन हुनुपर्ने महामन्त्री शर्माले स्पष्ट पारे । सहकारी ठगीमा छानबिन गर्नका लागि बन्ने संसदीय समितिको कार्यादेशमा लामिछानेको नाम स्पष्टसँग लेख्नैपर्ने उनको भनाइ थियो । साथै, देशभरका समस्याग्रस्त सहकारीको विषयमा छानबिन गर्नुपर्ने उनले बताए ।
“विवाहको कार्डमा बेहुलाको नाम नलेख पनि हुन्छ ? परीक्षा दिन बसेको विद्यार्थीले आफ्नो रोल नम्बर वा नाम नलेखे पनि हुन्छ ? यो आकासे समितिबाट छानबिन हुन्छ ?,” उनले भने, “हिम्मत राख्नुस् दह्रो मुटु राख्नुस्, ठगी गर्नुभएको छैन भने छानबिनबाट प्रमाणित हुन्छ । माला लगाउन हामी आफैँ आउँला ।”



