Skip to main content

Epost Nepal

भौतिक पूर्वाधारमन्त्रीलाई काठमाडौं महानगरपालिकाले पठायो धुलो उपहार

१२ जेठ, काठमाडौं – काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ ।

चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नु परेको भन्दै काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं अगाडि धूलो थुपारिदिएको हो ।

महानगरपालिकाका प्रमुख बालेन शाहले भौतिक पूर्वाधारमन्त्री महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धुलो उपहार पठाइदिने घोषणा गरेका छन् ।

कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा १५ वर्षदेखि जनताले सास्ती ब्यहोर्नु परेको जनाउँदै मेयर बालेन शाहको निर्देशनमा शनिबार सडकको धूलो र फोहोर जम्मा गरी ती कार्यालयहरु अगाडि खनाइदिएको हो ।

उनले चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो खसाल्ने चेतावनी दिएका छन् ।

‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धूलोको हात छ, जसले गर्दा महानगरवासीले धूलोधुवाँ खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ,’ मेयर शाहले लेखेका छन्, ‘यो धूलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *