२४ बैशाख, काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका छन्।
मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूलाई बैठक बोलाएका हुन्। आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् ।
घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् ।
सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो। कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।
संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरू हुँदैछ।
संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुखले संसदीय समितिका सभापतिहरू र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकहरूसँग अलग अलग भेट गरिरहेका छन्।



