२२ बैशाख, काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन् ।
बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं- १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए।
निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे ।
२०६४ को संविधानसभापछि लगातार चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए, अनि संविधान जारी भयो।’
कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए ।
कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रबि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए । ‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदीय छानबिन बनाऔँ सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?,’ कोइराला प्रश्न गरे ।



