१६ बैशाख, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।
मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आइतबार उद्घाटन गर्दै उनले गत वर्ष जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार निश्चित गरेको बताए ।
“उक्त प्रारम्भिक सहमतिलाई मूर्तरूप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चितताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,” उनले भने, “नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ । यसले नेपालको जलविद्युत्को बजार विस्तार हुनेछ ।”
उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको बताउँदै प्रधानमन्त्री दाहालले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरू गरिरहेको जानकारी दिए ।
विकास निर्माणका कार्यलाई निरन्तर अगाडि बढाउनुपर्ने उनले बताए । उनले भने, “विकास आयोजनाहरूको काम रोकिनु हुँदैन । विकास र पर्यावरणबीच सन्तुलन कायम हुने गरी योजनाहरू अगाडि बढाउन महत्त्वपूर्ण निर्णय गर्नैपर्नेछ ।” उनले विकास निर्माणको कार्यमा बाधक नभई व्यावहारिक बनिदिन आग्रह समेत गरे ।



