१६ बैशाख, काठमाडौं – लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आज आइतबार सुरु हुँदै छ ।
सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने र स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी रहेको नेपाल लगानी बोर्डले जनाएको छ ।
दुई दिन चल्ने सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् । ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजनाहरु रहेका छन् । संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् ।
लगानी बोर्डको ५८औं बैठकले मंगलबार तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) लगायतका सरकारी तथा निजी गरी १ सय ४८ परियोजनाको सूची स्वीकृत गरेको छ । त्यसपछि काठमाडौं तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विकास परियोजना र डाटा सेन्टर प्रोजेक्ट थपिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार २४ सयभन्दा बढीलाई निम्ता पठाइएकामा १६ सयभन्दा बढी सहभागी आउने सुनिश्चित भइसकेको छ ।
सबैभन्दा बढी ३ सय ८५ जना स्वदेशी लगानीकर्ताको सहभागिता निश्चित भइसकेको छ । चीनबाट २ सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदै छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ/नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।
पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहनेछ ।सम्मेलनमा २३ स्टल हुनेछन् भने २० परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ । मार्केट साउन्डिङका लागि ९, पहिचान चरणका ३१ परियोजना सोकेस गरिने, वित्तीय व्यवस्थापनका लागि १८, निजी क्षेत्रका लगानीका लागि १४, सोकसका लागि २७ र निजी क्षेत्रका ३१ परियोजना सोकेस गरिनेछ । पहिलो दिन उद्घाटन सत्र र अन्य दुई मुख्य सत्र हुनेछन् । दोस्रो दिन भने समानान्तर रुपमा ११ सत्र सञ्चालन हुने बोर्डले जनाएको छ ।



