Skip to main content

Epost Nepal

बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन

१८ चैत्र, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार आयोजित राजस्व वृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्।

‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनूहोस्, झुटा तथा नक्कली बिल बिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको अनुगमन गर्नूस् र एक्सन लिनूस्,’ उनले भने।

प्रधानमन्त्री दाहालले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको उल्लेख गर्दै सोही अनुरूप क्रियाशील हुन निर्देशन दिए।

‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ। मुलुकको समृद्धिको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनैपर्छ। जनतामा पैदा गरिएको निराशालाई हटाउनुपर्छ। यसका लागि विगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन। नयाँ सोचसहित अगाडि बढौं,’ उनले भने।

आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्री दाहालले निर्देशन दिए।

‘आन्तरिक बजारमा बिल लिने–दिने प्रणाली प्रभावकारी भएको छैन। कारोबारलाई आवश्यकताअनुसार प्रविधिमा रूपान्तरण गर्न सकिएको छैन। यस सम्बन्धमा सम्बन्धित राजस्व कार्यालयले नियमित बजार अनुगमन गर्ने र सो को रिपोर्टिङ गर्ने व्यवस्था मिलाउनूहोस्। कर प्रशासनका सबै कार्यलाई पूर्ण प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनूहोस्,’ प्रधानमन्त्री प्रचण्डले निर्देशन दिँदै भने। -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *