Skip to main content

Epost Nepal

यूएन महासभामा नेपालको सहभागिताबारे संसद्लाई जानकारी

१६ असोज, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिता र त्यहाँ उठाइएका विषयबारे संसद्लाई जानकारी गराएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खनालले महासभामा प्रधानमन्त्री बालेन शाहले नेपालको प्रतिनिधित्व गर्दै जलवायु संकट, जलवायु न्याय र नेपालको राष्ट्रिय हितका विषय उठाएको बताए।

प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै त्यसबाट भएको जनधनको क्षति, पूर्वाधार तथा जनजीविकामा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तन नेपालको विकासका लागि समेत चुनौती बनेको बताएका थिए।

महासभामा नेपालले जलवायु न्याय, जलवायु वित्त, क्षति तथा नोक्सानी कोष, पूर्वसूचना प्रणाली र जलवायु उत्थानशील विकासमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषयमा जोड दिएको मन्त्री खनालले बताए।

महासभाका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग भेटवार्ता गरेका थिए। यस्तै, परराष्ट्रमन्त्री खनालले विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता र विभिन्न उच्चस्तरीय बैठकमा सहभागिता जनाएका थिए।

भ्रमणका क्रममा नेपालले ग्रेनाडा, नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी छुट्टाछुट्टै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको छ। यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या १८८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *