१४ भदौ, काठमाडौं — बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक अवरुद्ध भएको हो । बाढीले कटान गरेपछि सडकको केही भाग भासिएको छ ।
आज बिहान केही समय अवरुद्ध भएर खुलेको सडक केहीबेरमै पुनः पूर्णरूपमा बन्द भएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।