Skip to main content

Epost Nepal

प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन एर्दोगानको निम्तो

२७ साउन, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिएका हुन्।

उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्।

‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,’ सहसचिव ढकालले भने, ‘टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो।’

परराष्ट्र मन्त्रालयमा प्राप्त उक्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको उनले जानकारी दिए। तर, सम्मेलनमा नेपालबाट कुन तहको प्रतिनिधित्व हुने भन्नेबारे भने अहिलेसम्म टुंगो नलागेको उनको भनाइ छ।

‘त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौँ,’ उनले भने, ‘कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतीक्षामा छौँ।’

कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *