१६ असार, काठमाडौं — देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी बिहीबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको छ।
महाशाखाले असार १६, १७ र १८ गतेका लागि विशेष मौसम चेतावनी जारी गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनाबारे नियमित जानकारी लिन आग्रह गरेको छ।
आजको मौसम
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।
बुधबारको मौसम
बुधबार दिउँसोदेखि रातिसम्म देशभर मौसम पूर्णतया बदली रहने अनुमान छ। पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
बिहीबारको मौसम
बिहीबार पनि देशभर मौसम पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षासँगै हावाहुरीको जोखिम कायम रहने अनुमान गरिएको छ।
महाशाखाको चेतावनी
महाशाखाले विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहाडी क्षेत्रमा भू-क्षय, पहिरो र गेग्रान बहाव तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने जनाइएको छ।
यस्तै, नदीनालाको जलसतह बढ्न सक्ने, सडक तथा यातायात सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।



