१४ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको अनुमतिपछि अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनमा पेस गरेका हुन्।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ अनुसार विधेयक प्रस्तुत गर्न अनुमति मागिएको प्रस्तावमा कुनै पनि सांसदले विरोधको सूचना नदिएपछि सभामुखले विधेयक पेस गर्न अनुमति दिएका थिए।
विधेयकको आवश्यकताबारे जानकारी दिँदै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) तथा मार्केट म्यानुपुलेसनजस्ता अपराध नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए।
उनले मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय र बीमा क्षेत्रसँग सम्बन्धित कसुरको अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानुनमा तत्काल सुधार आवश्यक रहेको पनि बताए।
संसद्को अधिवेशन नचलेका बेला जारी गरिएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ संघीय संसदबाट स्वीकृत भइसकेको छ।
अर्थमन्त्री वाग्लेले नेपालको संविधानको धारा ११४ को उपधारा (२) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड ‘ग’ अनुसार अध्यादेशलाई प्रतिस्थापन गर्न तोकिएको समयभित्र विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले यो विधेयक प्रस्तुत गरिएको जानकारी सदनलाई गराए।



