१४ पुस, काठमाडौं — अहिलेको आधुनिक जीवनमा मोबाइल फोन केवल सञ्चारको साधन मात्र नभई दैनिक रहनसहनको आधारभूत उपकरण बनेको छ । विकसित देशमा मात्र होइन नेपाल जस्तो विकासोन्मुख र अन्य अल्प विकसित देशमा समेत मोबाइल फोनले जनजीवनलाई तीव्र रूपमा परिवर्तन गरेको छ । सहरदेखि गाउँसम्म मोबाइलको पहुँच विस्तार हुँदै जाँदा यसले सूचना, अभिव्यक्ति र हरेक जसो सामाजिक मुद्दाहरुमा आम जनसहभागिताको ढोका खोलेको छ ।
सन् २०२५ को सेप्टेम्बरमा नेपालले मोबाइल प्रयोगमार्फत् एक प्रकारको सामाजिक र राजनीतिक क्रान्ति अनुभव गर्यो। युवाहरूले मोबाइल फोनलाई केवल मनोरञ्जनको साधन मात्र नबनाई राजनैतिक असन्तुष्टि र विद्रोहको आवाज उठाउने शक्तिशाली माध्यमका रूपमा प्रयोग गरे । सामाजिक सञ्जाल, लाइभ भिडियो र डिजिटल सन्देशमार्फत् उनीहरूले आफ्ना माग र विचार सार्वजनिक गरे । यसले नागरिक चेतनामा नयाँ ऊर्जा थप्यो र नसोचेको परिणाम दियो ।
विशेषगरी “जेन–जी”युवाहरूले मोबाइल फोनको प्रभावकारी प्रयोग गरेर समाजमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरे । उनीहरूले परम्परागत आन्दोलनभन्दा फरक, प्रविधिमैत्री र छिटो फैलिने अभियान चलाए । मोबाइलकै माध्यमबाट संगठन बन्यो, समन्वय सम्भव भयो र यसले सिर्जना गरेको दबाब र आन्दोलनले झन्डै दुइ तिहाई संख्यामा उभिएको सरकारलाई, यसका नीतिनिर्मातालाई र लामो समयदेखि सत्ताको वरिपरि नै आफुलाई सर्वोपरी ठान्दै आएका नेतालाई पाखा लगायो ।
मोबाइल फोनले सूचनाको एकाधिकार तोड्दै आम नागरिकलाई शक्तिशाली बनाएको छ । मोबाइल फोन कै कारण Citizen Journalism को उदय भएको छ । अब समाचार, विचार र तथ्य केही सीमित व्यक्तिमा वा संस्थामा मात्र केन्द्रित छैनन् । एउटा साधारण मोबाइल प्रयोगकर्ताले पनि राष्ट्रिय बहसमा योगदान दिन सक्ने अवस्थाको सिर्जना भएको छ । यस अर्थमा मोबाइल लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उपकरणका रूपमा स्थापित भएको छ ।
यसरी हेर्दा मोबाइल फोन आधुनिक नेपालको सामाजिक परिवर्तनको मेरुदण्ड बनेको छ । सही उद्देश्य र चेतनासहित प्रयोग गरिएमा यसले समाजलाई सकारात्मक दिशातर्फ डोहोर्याउन सक्छ भन्ने कुरा सामाजिक सञ्जालका खबरदारी र त्यसले ल्याएका सकारात्मक परिणामले प्रमाणित गरेको छ । सन् २०२५ को अनुभवले मोबाइल फोन केवल प्रविधि होइन, परिवर्तनको साधन पनि हो भन्ने कुरा स्पष्ट पारेको छ ।



