३ पुस, काठमाडौं − सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन्।
बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपाल को ६१ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले राजनीतिक दलहरू चुनावी गतिविधिमा सक्रिय भइसकेको बताएका हुन्।
उनले राजनीतिक दलहरूले उम्मेदवार सिफारिस गर्न थालिसकेको उल्लेख गर्दै निर्वाचनको तयारीस्वरूप गाउँदेखि शहरसम्म अभियान सञ्चालन भइरहेको बताए।
‘कतिपय राजनितिक दल महाधिवेशन गर्दै हुनुहुन्छ, गर्नेवाला हुुनुहुन्छ, गाउँदेखी शहरसम्म अभियान चलाउनुभएको छ । यहाँहरूलाई जानकारी गराउँ, उम्मेद्वारको नाम सिफारिस भइरहेको छ । समानुपातिकमा नाम सिफारिस भइरहेको छ,’ मन्त्री खरेलले भने, ‘भनेपछि राजनितिक दलहरू चुनावमा होमिनु भइसकेको छ । सरकार सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर चुनावलाई सफल बनाउने वातावरणमा सरकारले त्यो काम गरिरहेको छ । जनता भोट हाल्न आतुर छन् । निर्वाचन अव उत्सव होइन, महोत्सव बन्दैछ । मुलुक निर्वाचनमा अगाडी बढिसक्यो ।’
मन्त्री खरेलले फागुन २१ गते हुने निर्वाचनका लागि ८ लाखभन्दा बढी नयाँ मतदाता थपिएको भन्दै देशभर निर्वाचन महोत्सवको वातावरण बन्दै गएको दाबी गरे। उनका अनुसार निर्वाचनमा सहभागी हुन जनता पनि उत्साहित छन्।
‘सरकार अर्न्तगनका निकायहरूलाई पनि हामीले त्यो स्वतन्त्रता दिएका छौँ र भ्रष्टाचार नियन्त्रणसम्बन्धि मुद्दाहरू अहिले मज्जाले अगाडी बढिरहेको छ । सुशासनका कामको सुरुवात हामीले गरेका छौँ । निर्वाचनको कुरा गर्दा फागुन २१ मा निर्वाचन हुँदैछ । निर्वाचन आयोग द्रुत गतिमा काम गरिरहेको छ । ८ लाख भन्दा बढी नयाँ मतदाताहरूले उत्साहपुर्वक रुपमा मतदाता नामावली दर्ता गरेका छन् । करिब करिब सवै राजनीतिक दलहरू चुनावमा होमिइसकेको देख्छौं,’ मन्त्री खरेलले भने ।
उनले सरकारले आवश्यक सबै स्रोत, साधन र जनशक्ति व्यवस्थापन गरेर निर्वाचनलाई सफल बनाउने वातावरण निर्माण गरिरहेको जानकारी दिए।
वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेटअनुसार नै अघि बढिरहेको उल्लेख गर्दै मन्त्री खरेलले निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको बताए।
‘यो सरकारले जेन–जी आन्दोलनपछि हामीले तीन वटा म्याण्डेट पाएका छौं । भ्रष्टाचार नियन्त्रणका कामहरू अगाडी बढाउने, त्यसको लागी ऐतिहासिक रुपमा तीन महिनाको अवधिमा ३० वटा भन्दा बढी भ्रष्टाचारका मुद्दाहरू अहिले अदालत पुगेका छन् र कारबाही अगाडी बढेको छ,’ मन्त्री खरेलले भने, ‘यसमा यो सरकारले बढाएको भन्न खोजेको होईन, विगतका दिनहरूमा जुन खालको प्रभाव र दबाबमा मुद्दाहरू अगाडी बढ्न नसक्ने अवस्था थियो, हामीले अहिले राज्यका निकायहरूलाई स्वतन्त्र रुपमा काम गर्नको लागी सरकारको तर्फबाट बनाउनुपर्ने वातावरण बनाएका छौं,’ उनले भने ।



