३ असार, काठमाडौं - नेपाल आयाल निगम र नेपाल पेट्रोलियम चालक संघ बीच सहमति भएको छ। सहमतिसँगै संघले आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो । वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्नेलगायतका सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ । चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।
३ असार, काठमाडौं - काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबारदेखि सुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन् । उनीहरूले काठमाडौं महानगरपालिकाले गरेको रिङरोडभित्रबाट कबाड हटाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । कबाड व्यवसायीहरूले सोमबार पनि माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । कबाड व्यवसायीहरूले प्रदर्शनमा 'छोटे राजाहरूको आतंक बन्द गर', 'कबाड व्यवसायीको रक्षा गर', 'कानुनी शासन लागू गर', 'अदालतको निर्णयको सम्मान गर'जस्ता नारासहित प्लेकार्डसमेत प्रदर्शन गरेका हुन् । रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ । कबाड व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरूले आन्दोलन गर्नुपरेको…